‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
घोडाघोडी । ‘अफ्रिकन स्वाइन फिभर’का कारण कैलालीको घोडाघोडीमा ३८ बङ्गुर मरेका छन् । घोडाघोडी– ९ का कृषक प्रदेशु चौधरीले पालेका बङ्गुर मरेका हुन् ।
घोडाघोडी नगरपालिकाका पशु स्वास्थ्य प्राविधिक मनोज आचार्यले बङ्गुर मर्न थालेपछि गरिएको परीक्षणमा ‘अफ्रिकन स्वाइन फिभर’ पुष्टि भएको जानकारी दिए । उनका अनुसार यही पुस १८ गते पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीमा परीक्षण गर्दा रोग पुष्टि भएको थियो । ‘थप पुष्टि गर्न केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा समेत पठाएका थियौँ । त्यहाँ पीसीआरद्वारा परीक्षण गर्दा सोही रोग नै भएको पुष्टि भएको छ,’ आचार्यले भने ।
यस रोगले हालसम्म चौधरीको फार्ममा ३२ पाठापाठी, पाँच माउ बङ्गुर र एक भाले बङ्गुर मरेका हुन् ।
सुदूरपश्चिमका कैलाली, कञ्चनपुरलगायत जिल्ला अफ्रिकन स्वाइन फिभरको उच्च जोखिममा छन् । विसं २०७९ कात्तिकमा सुदूरपश्चिममा पहिलोपटक कैलालीको भजनीका कृषक जय बुढाको बङ्गुर फार्ममा यो रोग देखापरेको थियो । त्यसबेला बुढाले पालेका चार सय ८२ बङ्गुर मरेका थिए । त्यसपछि कैलाली, कञ्चनपुरलगायत जिल्लामा यो रोग देखापरिरहेको छ ।
अफ्रिकन स्वाइन फिभर बङ्गुर÷सुँगुर र बँदेलहरूमा भाइरसबाट लाग्ने महामारी रोग भएको बताइएको छ । सङ्क्रमित हुने सुँगुर, बङ्गुर तथा बँदेल प्रजातिमा १०४ देखि १०७ डिग्री फरेनहाइटसम्म ज्वरो आउने गरेको पशुचिकित्सकले बताएका छन् । त्यसबाहेक कान, पुच्छर र पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, शरीरमा नीलो धब्बा देखिने, खाना नखाने, छेर्ने, लड्खडाउने, तुहिने र ज्यानै जाने अवस्था आउने गरेको पशु स्वास्थ्य प्राविधिक आचार्यले बताए ।
रोगी बुङ्गुरसँगको संसर्ग र तिनको ओसारपसारमा प्रयोग हुने वस्तुहरूमार्फत पनि यो रोग सर्ने गरेको जानकारी दिए ।
प्रकाशित मिति: २८ पुस २०८१, आइतबार