युक्रेनलाई अतिरिक्त सहयोगबारे जर्मन सरकार विभाजित


 


न्युयोर्क । ह्वाइट हाउसमा डोनाल्ड ट्रम्पको पुनरागमनअघि किएभले समर्थन जुटाउन खोजिरहेको बेला जर्मन सरकार तीन अर्ब युरो (तीन अर्ब १० करोड डलर) को नयाँ सैन्य सहायता स्वीकृत गर्ने विषयमा विभाजित भएको स्पिगेल साप्ताहिकले शुक्रबार बताएको छ ।

फेब्रुअरी २३ मा प्रारम्भिक आम निर्वाचनअघि केन्द्र–वामपन्थी चान्सलर ओलाफ स्कोल्जले यस वर्ष बर्लिनको युक्रेनको रक्षामा योगदान बढाउन आफ्ना रक्षा र विदेशमन्त्रीहरूको प्रस्ताव अस्वीकार गर्नुभएको स्पिगेलले बतायो ।

रक्षामन्त्री बोरिस पिस्टोरियसले शुक्रबार आफ्नो मन्त्रालयले ‘थप रकम उपलब्ध भएमा युक्रेनका लागि सम्भावित थप खरिदको तयारी गरेको’ बताउनुभयो । तर उहाँले रकम खुलाउनुभएन । “यो निरन्तर चलिरहेको प्रक्रिया हो”, स्कोल्जको सोसल डेमोक्रेटिक पार्टीका सदस्य पिस्टोरियसले भन्नुभयो ।

स्पिगेलका अनुसार पिस्टोरियस र ग्रिन पार्टीका विदेशमन्त्री एनालेना बेयरबकले नोभेम्बरमा स्कोल्जको गठबन्धन भङ्ग भएपछि यो योजनाबारे छलफल सुरु गर्नुभएको थियो ।

उदारवादी एफडिपीको सरकारबाट बहिर्गमनले चान्सलरलाई बहुमतविहीन बनायो र नयाँ चुनाव गराउन बाध्य पा¥यो ।

रक्षा मन्त्रालयका कर्मचारीहरूले किएभलाई तत्काल आवश्यक पर्ने आपूर्तिको सूची बनाएका थिए, जसमा हवाई रक्षा प्रणाली, मिसाइल, हावित्जर र गोलाबारुद समावेश थिए । 

स्पिगेलका अनुसार फेब्रुअरीको चुनावपछि आउने कुनै पनि सरकारको हात बाँध्न नचाहेको तर्क गर्दै स्कोल्जको कार्यालयले यसको पक्षमा नरहेको सङ्केत दिनुभएपछि योजना नयाँ वर्षमा रोकियो ।

रूसी र युक्रेनी सेनाहरू युद्धमोर्चामा भीषण लडाइँमा संलग्न रहेको बेला युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले बिहीबार समर्थनका लागि अर्को अपिल गर्नुभएको थियो । 

जर्मनीको रामस्टाइन अमेरिकी वायुसेना अड्डामा युक्रेनका पश्चिमी सहयोगीहरूको बैठकमा बोल्दै जेलेन्स्कीले अमेरिकी राष्ट्रपतिको रूपमा ट्रम्पको दोस्रो कार्यकालले ‘नयाँ अध्याय’ को प्रतिनिधित्व गर्ने बताउनुभएको थियो ।

ट्रम्पले युक्रेनलाई दिइने अमेरिकी सैन्य सहायताको बारम्बार आलोचना गर्नुभएको छ र तीन वर्षको नजिक पुग्न लागेको यस द्वन्द्वलाई छिटै अन्त्य गर्न सक्ने बताउनुभएको छ ।

जर्मनी संयुक्त राज्य अमेरिकापछि युक्रेनको दोस्रो सबैभन्दा ठूलो सैन्य समर्थक रहेको छ । बर्लिनले यस वर्ष थप चार अर्ब युरो सहायता छुट्याइसकेको छ ।

हालैका हप्ताहरूमा स्कोल्जले युक्रेनका लागि जर्मनीको समर्थनको पुष्टि गर्दै बर्लिनले किएभलाई आफ्नो सहयोग ‘नछाड्ने’ बताउनुभएको छ । 

तथापि चुनाव प्रचारमा युक्रेन युद्धको विस्तारबारे मतदाताहरूको चिन्ताको जवाफ दिँदै उहाँले आफूलाई विवेकशील शान्ति प्रवर्द्धकका रूपमा प्रस्तुत गर्न कोसिस गर्नुभएको छ । 

उहाँले यस हप्ताको सुरुमा रुसबाट आउने खतराको जवाफ दिन जर्मनीको रक्षा बजेट उल्लेखनीय रूपमा बढाउने प्रस्तावहरूलाई अस्वीकार गर्नुभयो ।

प्रकाशित मिति: २६ पुस २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्