लिङ्देनले प्रधानमन्त्री ओलीलाई भेटेरै दिए पृथ्वी जयन्तीमा निम्तो


 


काठमाडौं, पुस २६ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । लिङ्देनले बिहीबार साँझ बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेटेका हुन् ।

शनिबार (पुस २७ गते) आयोजना गर्ने राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको अवसरमा राप्रपाले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने चियापान कार्यक्रममा सहभागिताका लागि निम्तो दिन लिङ्देन बालुवाटार पुगेका हुन् । भेटमा अन्य विषयमा पनि लामो कुराकानी भएको अध्यक्ष लिङ्देनले जानकारी दिए ।

राप्रपाले चियापानमा प्रधानमन्त्री, मन्त्रीहरू, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, विभिन्न राजनीतिक दलका अध्यक्ष तथा नेताहरू, पूर्व प्रधानमन्त्रीहरू, संवैधानिक निकायका प्रमुखहरू, विदेशी कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, विभिन्न पेशागत संघसंस्थाका प्रमुख, कलाकार, खेलाडीलगायत सामाजिक जीवनका विभिन्न व्यक्तिलाई निमन्त्रणा पठाएको छ ।

आम निर्वाचनपछि राप्रपासमेत सहभागी पुष्पकमल दाहाल ’प्रचण्ड’ नेतृत्वको सरकारले पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा निर्णय गरेको थियो । राप्रपाले २०६३ देखि हरेक वर्ष पृथ्वी जयन्तीको अवसरमा चियापान कार्यक्रम गर्दै आइरहेको छ ।

प्रकाशित मिति: २६ पुस २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्