रविले किस्ता तिर्न काटेका १२ चेकमा गरेको हस्ताक्षर सक्कली भएको पुष्टि


 


काठमाडौँ, पुस २५ । पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेले सूर्यदर्शन सहकारी संस्थालाई किस्ता तिर्न काटेका १२ चेकमा गरेको हस्ताक्षर सक्कली भएको पुष्टि भएको छ ।

सूर्यदर्शन सहकारी ठगीमा अनुसन्धान गर्दा प्रहरीले लामिछानेले काटेका ८२० चेकमध्ये सहकारीलाई भुक्तान गरेका १२ वटा चेकको हस्ताक्षर फरेन्सिक परीक्षण गर्दा सक्कली भएको पुष्टि भएको हो ।

नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा परीक्षण गर्दा सक्कली भएको पुष्टि भएको सरकारी वकिल कार्यालय कास्कीले जिल्ला अदालत कास्कीमा पेस गरेको प्रतिवेदनमा उल्लेख छ ।

कम्पनीको प्रबन्ध निर्देशकका रूपमा लामिछानेले काटेका ८२० चेकमध्य चार दर्जन चेक सहकारीको ऋण भुक्तानीका लागि काटिएका थिए । तीमध्ये १२ चेकको फरेन्सिक परीक्षण गरिएको थियो ।

लामिछानेले विभिन्न कागजपत्रमा आधिकारिक रूपमा गरेका २१ वटा हस्ताक्षरलाई मापदण्ड (स्टान्डर्ड) मानेर उनले काटेका चेकको परीक्षण गर्दा हस्ताक्षरमा अक्षरको स्वरूप, आकार, धर्का, बनोट र थोप्ला समान रहेको प्रतिवेदनमा उल्लेख छ ।

लमिछानेले सहकारीको बचत गोर्खा मिडियामा आएको विषयमा आफूलाई जानकारी नै नभएको बताउँदै आएका थिए ।

प्रकाशित मिति: २५ पुस २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्