चौरपाटी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड भोलिबाट, ८ विद्यालय सहभागी हुने
अछाम । अछामको चौरपाटी गाउँपालिकामा बिहीबार (भोलि) बाट सुरु हुने १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पूरा भएको छ ।
बिहीबार १० बजे गाउँपालिकाका अध्यक्ष भीम बहादुर साउँदले उद्घाटन गर्ने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको हो । प्रतियोगितामा पालिकाभित्र रहेका आठ वटा माध्यमिक विद्यालयहरुको सहभागीता रहनेछ ।
गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका अनुसार प्रतियोगितामा छात्र–छात्रा भलिबल, एथलेटिक्सतर्फ १००, २००, ४००, ८०० र ३००० मिटर दौड हुने छन् ।
यसैगरी हाइजम्प, त्रिपलजम्प, ज्याब्लिङ थ्रो, कबड्डी र सटपुट लगायतका खेलहरू हुने पालिकाले जनाएको छ । प्रतियोगिता छात्र र छात्रातर्फ सञ्चालन हुनेछन् ।
पालिका खेलकुद बिकास समितिका अध्यक्ष तुल बहादुर साउँदले पनि प्रतियोगिताको तयारी लगभग सकिएको जानकारी दिए । उनका अनुसार आज साँझ सम्म पालिकाको खेल मैदान पनि तयार हुनेछ । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिता वडा नम्बर १ स्थित पालिकाको खेलकुद मैदानमा हुनेछ ।
प्रकाशित मिति: २४ पुस २०८१, बुधबार