भूकम्पीय पराकम्पले हिमताल फुट्ने जोखिम
काठमाडौँ, पुस २४ । चीन र नेपालको मध्यक्षेत्रलाई केन्द्र बनाएर आएको भूकम्पको पराकम्पका कारण हिमपात फुट्ने जोखिम बढेको छ ।
मंगलबार बिहान मात्रै चीनको तिब्बत केन्द्र बनाएर गएको शक्तिशाली भूकम्पका कारण हिमपातको जोखिम बढेको अधिकारीहरूले चासो राखेका छन् ।
नेपालका हिमाली क्षेत्रमा सयौँका संख्यामा हिमताल भए पनि दुई वटामा मात्र पूर्वसूचना प्रणाली छ । त्यसबाहेकका करिब दुई दर्जन हिमतालमा बेलाबखत निगरानी हुन्छ। तीसहित बाँकीमा विपद् आउँ ला भनेर चनाखो रहनबाहेक अन्य विकल्प छैन ।
जल तथा मौसम विज्ञान विभागको हिमसर्वेक्षण तथा हिमताल शाखाका प्रमुख दिनकर कायस्थ भन्छन्, ‘हामीले गर्न सक्ने केही हुँदैन । हिमताल नै निगरानी गरेर बस्ने हाम्रो अत्याधुनिक प्रणाली छैन ।’
सोलुखुम्बु जिल्लाको खुम्बु उपत्यकामा पर्ने इम्जा हिमताल र दोलखाको रोल्वालिङ उपत्यकामा पर्ने च्छोरोल्पा हिमतालमा मात्र नियमित रूपमा निगरानी र त्यसको सतहको सन्तुलन मिलाउने गरिएको छ ।
‘ती हिमतालमा स्वचालित रूपमा क्यामराबाट निगरानी र तल्लोतटीय क्षेत्रमा जल सतह मापन गर्ने सेन्सरहरू छन्। त्यसकै भरमा पूर्वसूचना दिने गरिन्छ,’कायस्थ भन्छन्। थप चारवटा ताल (थुलागी, तल्लो वरुण, होङ्गु टू र लुम्दिङच्छो)मा निगरानी गर्ने गरी तयारी अन्तिम चरणमा पुगेको विभागका अधिकारीहरू बताउँछन् ।
यता अर्का एक हिमताल विज्ञ पनि नेपालको उच्च पर्वतीय क्षेत्रमा देशैभर हिमताल रहे तापनि पूर्वी जोखिम उच्च रहेको औँल्याउँछन् ।
हिमनदी तथा हिमतालहरूको नक्सांकन तथा निगरानी कार्यमा संलग्न अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसिमोड)का भूगर्भशास्त्री सुदनविकास महर्जन त्यस्तो जोखिम नेपालका मात्र नभएर तिब्बतदेखिका हिमतालबाट हुनसक्ने चेतावनी दिन्छन् ।
प्रकाशित मिति: २४ पुस २०८१, बुधबार