पूर्वमेयर शिवाकोटी बलात्कार अभियोगमा कारागार चलान


 


काठमाडौँ, पुस २३ । बलात्कारको अभियोगमा झापाको बिर्तामोड नगरपालिकाका पूर्वप्रमुख ध्रुवकुमार शिवाकोटी कारागार चलान भएका छन् ।

शिवाकोटीलाई सोमबार जिल्ला न्यायाधीश नवीनकुमार जोशीको इजलासले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

आफ्नै घरमा काम गर्ने १७ वर्षकी नाबालिक बलात्कारको आरोपमा शिवाकोटीलाई प्रहरीले मंसिर २४ गते पक्राउ गरेको थियो ।

शिवाकोटी २०७४ सालको निर्वाचनमा नेकपा एमालेबाट बिर्तामोडको मेयरमा निर्वाचित भएका थिए । उनी मेयरमा निर्वाचित भएको एक महिना पनि नपुग्दै बालिकाको पालन पोषण गर्ने र पढ्ने व्यवस्था पनि मिलाइदिने शर्तमा घरमा राखेका थिए । बालिका उनकै घरमा बसेर काम गर्दै पढिरहेकी थिइन् । हाल उनी ल्याव टेक्निसियन पढिरहेकी थिइन् ।

तर आफू कक्षा ८ मा पढ्दादेखि नै मेयर शिवाकोटीले पटक पटक बलात्कार गरेको आरोप पीडितको छ । श्रीमती घरबाहिर गएको बेला आफूलाई बलात्कार गर्ने गरेको आरोप पीडित बालिकाको छ ।

प्रकाशित मिति: २३ पुस २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्