सरकारले हल्ला होइन, काम गरिरहेको छ : उपप्रधानमन्त्री सिंह
धरान । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले हल्ला नगरी काम गरिराखेको बताएका छन्।
धरानमा कांग्रेसले गरेको कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् । उपप्रधानमन्त्री सिंहले परिस्थितिअनुसार अहिलेको संघीय सरकार बनेको र यसले काम गरिराखेको दाबी गरे।
उपप्रधानमन्त्री सिंहले भने, ‘परिस्थितिको आवश्यकताअनुसार अहिलेको सरकार बनेको हो। सरकारले हल्ला नगरी काम गरिरहेको छ।’
यसअघिका सरकारले पूरा गर्न नसकेका काम र आयोजनाहरू पनि अहिलेको सरकारले अघि बढाएको उनले बताए।
साथै उनले नेपाली कांग्रेस र एमालेसहितको अहिलेको गठबन्धनको विकल्प नभएको बताए।
सरकार गठनका बेला भएको सहमति अनुसारनै आउने निर्वाचनसम्म गठबन्धन कायम रहने उनले बताए।
प्रकाशित मिति: २१ पुस २०८१, आइतबार