खोटेहाङले शुरू गर्‍यो छैटौँ पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता


 



खोटाङ, २० पुस । खोटेहाङ गाउँपालिकामा छैटौँ पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरू भएको छ ।

गाउँपालिकाको आयोजना तथा भाषा माध्यमिक विद्यालय बडकादियालेको सहआयोजनामा पालिकास्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरू गरिएको हो ।

छवटा विद्या ९भलिबल, रिले दौड, लामो दूरीको दौड, छेलो, हाईजम्प र लङजम्प० प्रतियोगितामा १२ स्वर्ण, १२ रजत र १२ कास्यगरी ३६ वटा पदकका लागि प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने विद्यालयलाई रनिङ शिल्डसहित नगद रू एक लाख ११ हजार १११ को साथमा प्रमाणपत्र प्रदान गरिने गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ले जानकारी दिनुभयो ।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा गाउँपालिकाभित्र सञ्चालित ११ वटा माध्यमिक विद्यालयका ३३० जना छात्रछात्रा सहभागी भएका छन् । प्रतियोगितामा सहभागी विद्यालयका शिक्षक तथा विद्यार्थीका लागि खाना तथा खाजाको व्यवस्थासमेत गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिता सञ्चालनका लागि गाउँपालिकाले रू पाँच लाख तथा राष्ट्रिय खेलकुद परिषद्ले रू एक लाख उपलब्ध गराएको प्रतियोगिताका सहआयोजक भाषा माविका प्रधानाध्यापक राजु खड्काले जानकारी दिनुभएको छ । गाउँपालिका तथा राष्ट्रिय खेलकुद परिषद्ले उपलब्ध गराएको रकमले प्रतियोगिताका विजयीलाई पुरस्कारदेखि व्यवस्थापनसम्मको खर्च धान्नुपर्ने जनाइएको छ ।

प्रतियोगिताको औपचारिक उद्घाटन शुक्रबार जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले गर्नुभएको छ । प्रतियोगिता उद्घाटन कार्यक्रममा गाउँपालिका प्रमुख राई, उपप्रमुख रूपेश राई, नौँवटै वडाका वडाध्यक्ष, राजनीतिक दल, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगिता उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै जिल्ला समन्वय समिति खोटाङका प्रमुख राईले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यार्थीको सर्वाङ्गिन विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ । “राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता नेपाल सरकारको कार्यक्रम हो । यसले सर्वाङ्गिन विकासमा महत्वपूर्ण भूमिका खेलेको छ”, उहाँले भन्नुभयो, “विद्यार्थीलाई किताबी ज्ञान मात्रले पूर्ण हुँदैन । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा धेरै विद्या समेटिएकाले अधिकतम उपयोगमा ल्याउन जरूरी छ ।”

प्रतियोगिताको पहिलो दिन सञ्चालन गरिएको छात्रतर्फको भलिबल प्रतियोगितामा भगवती दिनानाथ माध्यमिक विद्यालय खोटाङबजारले विजयी यात्रा शुरू गरेको छ । सप्तकन्या माध्यमिक विद्यालय चिप्रिङलाई १–२ ले हराउँदै भगवती दिनानाथ मावि खोटाङबजारले विजयी यात्रा शुरू गरेको हो ।

यस्तै, छात्रतर्फ एक हजार ६०० मिटर दौडमा सिम्पानी माध्यमिक विद्यालयका धिरेन राई प्रथम, विणा माध्यमिक विद्यालयका रूपेश विश्वकर्मा द्धितीय र कृष्ण माध्यमिक विद्यालयका इरान थापा तृतीय भएका छन् । छात्रातर्फ एक हजार मिटर दौडमा भाषा माध्यमिक विद्यालयकी इमा खत्री प्रथम, सिम्पानी माध्यमिक विद्यालयकी सुमित्रा खड्का द्धितीय र सप्तकन्या माध्यमिक विद्यालयी सुजता काफ्ले तृतीय भएका छन् ।

प्रतियोगिताको अवसरमा कक्षा–१ देखि कक्षा–५ सम्मका विद्यार्थीका लागि नृत्य तथा कक्षा–१ देखि कक्षा–८ सम्मका विद्यार्थीका लागि भाले जुधाइ प्रतियोगितासमेत आयोजना गरिएको जनाइएको छ । गाउँपालिकाभित्र सञ्चालित सबै विद्यालयका विद्यार्थी सहभागी हुन पाउने नृत्य र भाले जुधाइ प्रतियोगिताका विजयीलाई विद्यालयको आन्तरिक स्रोतबाट पुरस्कारको व्यवस्था गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीप आचार्यले जानकारी दिनुभएको छ ।

जिल्लाका सामुदायिक विद्यालयमध्ये सबैभन्दा पूरानो ९विसं १९९२ साल भदौ–२ गते स्थापना भएको० विद्यालयले सहआयोजना गरेको प्रतियोगिता उद्घाटन कार्यक्रममा प्रस्तुत गरिएको मार्चपासमा महेन्द्रोद्धय मावि वाप्लुखा प्रथम भएको छ भने, विभिन्न सांकृतिक कार्यक्रमहरूसमेत प्रस्तुत गरिएको थियो । गाउँपालिकाको आयोजनामा वडा नं ४ बडकादियालेमा पालिकास्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भएपछि उक्त वडामा खेलकुद महोसत्सवकै झल्को आएको छ ।

जिल्लाको दक्षिणी क्षेत्रमा उक्त गाउँपालिकामा वर्षेनि फरक–फरक विद्यालयले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्ने गरिएको जनाइएको छ । नौँवटा वडा रहेको उक्त गाउँपकालिकामा यसअघि विणा माध्यमिक विद्यालय लिकुवापोखरीले प्रतियोगिता आयोजना गरेको थियो ।

दश स्थानीय तह रहेको जिल्लामा अहिलेसम्म अन्य स्थानीय तहले पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरू गरेका छैनन् । पालिकास्तरीय प्रतियोगितामा छनौट भएकाहरू जिल्ला हुँदै प्रदेश तथा सङ्घमा समेत सहभागी हुन पाउँछन् ।

प्रकाशित मिति: २० पुस २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्