सुस्मिता मृत घटनाः फरार युवक ओखलढुङ्गामा झुन्डिएको अवस्थामा फेला


 


ओखलढुङ्गा, २० पुस। काठमाडौँको पिंगलास्थानस्थित होटेलमा मृत फेला परेकी सुस्मिता खड्कासँगै बसेर फरार भएका युवक ओखलढुङ्गामा झुन्डिएको अवस्थामा फेला परेका छन्। 

ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–३ सिस्नेरीका २३ वर्षीय देवबहादुर थापा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्। 

शनिबार दिउँसो ओखलढुङ्गाकै सुनकोसी गाउँपालिका–३, सिस्नेरीमा झुन्डिएको अवस्थामा फेला परेको ओखलढुङ्गाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कृष्ण खड्काले बताउनुभयो। 

“देवबहादुर झुन्डिएको अवस्थामा मृत फेला परेका छन्, घटनाको बारेमा अनुसन्धान भइरहेको छ,” डीएसपी खड्काले भन्नुभयो। खड्काको मृत्युको कारण अझै खुलेको छैन। 

देवबहादुरसँगै पिंगलास्थानस्थित बागमती होटेलको ३०८ नम्बर कोठामा बस्न पुगेकी २२ वर्षीया सुस्मिताको शव गत बुधबार फेला परेको थियो। सँगै होटेलमा बसेका देवबहादुर त्यस दिनयता फरार थिए। 

देवबहादुर र सुस्मिता पुस १६ गते (मंगलबार) उक्त होटोलमा बस्न पुगेको खुलेको छ। सुस्मिताको शरीरको बाहिरी भागमा कुनै चोटपटक छैन। देवबहादुर होटेलको कोठाको ढोका बाहिरबाट चाबी लगाएर भागेका थिए। 

मङ्सिर ३० गते मात्र उनी जापानबाट काठमाडौं आएको प्रहरीको अनुसन्धानका क्रममा खुलेको छ। सुस्मिता समेत जापान जाने तयारीमा थिइन्। गाेरखापत्रबाट

प्रकाशित मिति: २० पुस २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्