अब बिजुलीको बाढी आउँछ-उर्जामन्त्री


 


विराटनगर, फागुन १२

उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले २\४ हजार मेगावाट विद्युत् खपत हुने गरी उद्योग स्थापनाको योजना बनाउन उद्योगीहरुलाई आग्रह गरेका छन्। विराटनगरमा बुधबारदेखि सुरु भएको विराट एक्स्पो २०७३ को उद्घाटन कार्यक्रममा शर्माले यही गतिमा काम भए ४\५ वर्षभित्र विद्युतको बढी आउने बताए।’४\५ वर्षपछि कोशीको पानीको बाढी होइन। कोशीमा मिसिने नदीबाट निस्कने बिजुलीको बाढी आउने छ। कसरी विद्युत खपत गर्ने भन्ने चिन्ता हुनेछ,’ उनले भने,’२\४ हजार मेगावाट विद्युत् खपत हुने गरी उद्योग खोल्ने योजना बनाउनु होस्।’ मन्त्री शर्माले तमोर, अरुण, भोटेकोशीलगायतका नदीलाई पहाडमै नियन्त्रण गर्ने र हजारौं मेगावाट विद्युत् निकाल्ने आफ्नो योजना रहेको बताए।

उनले दक्षिण एसियाकै चर्चित र ठूलो १० हजार मेगावाटको चिसापानी कर्णाली आयोजना नेपाल र नेपालीकै लगानीमा निर्माण गर्नुपर्ने बताए। ‘साना तिना होइन अब १० हजार मेगावाट क्षमताका चिसापानी कर्णाली आयोजना निर्माण गर्नुपर्छ,’ मन्त्री शर्माले भने,’राजनीतिक इच्छाशक्ति हुने हो भने अनुमानित ६ खबर रुपैयाँ लाग्ने सो आयोजना निर्माण गर्न सकिन्छ।’ एक्स्पोमा उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले डेढ महिनामा बैंकहरुले ४ पटकसम्म ब्याजदर बढाएर १४ प्रतिशत पुर्‍याएको गुनासो गरे।

उनले बैंकले ब्याजदर बढाउँदै जाँदा उद्योगहरु धरासायी बन्दै जानेकुरामा सरकारले ध्यान दिनुपर्ने बताए।  कार्यक्रममा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष चण्डीराज ढकालले आर्थिक तरलताको समयमा सरकार मौन बस्न नहुने बताए। उनले अहिले देखिएको आर्थिक तरलताले देशलाई अझै परनिर्भर बनाउनेतर्फ सजक बन्नुपर्ने बताए। कार्यक्रममा उद्योगी किशोर प्रधान, शेखर गोल्छा, पवन सारडा, मुकेश उपाध्याय लगायतले आर्थिक तरलताले उद्योग तथा व्यापारिक क्षेत्रमा पनि असर गर्न थालेको भन्दै चिन्ता व्यक्त गरे।  मेलामा उम्मेदवारी घोषणा नेपाल उद्योग वाणिज्य महासंघको आगामी अधिवेशनका लागि वरिष्ठ उपाध्यक्ष पदमा पूर्व उपाध्यक्ष किशोर प्रधान र शेखर गोल्छाले उम्मेदवारीको घोषणा गरेका छन्। मेला उद्घाटन समारोहमा विराटनगरका उद्योगी शेखर गोल्छाले उद्योग वाणिज्य महासंघको आगामी अधिवेशनबाट आफूलाई वरिष्ठ उपाध्यक्ष बनाउन विराटनगरका उद्योगीसँग आग्रह गरे।

प्रकाशित मिति: १२ फाल्गुन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्