एमाले सांसद ऋषिकेश पोखरेलका स्वकीय सचिवविरुद्ध पक्राउ पुर्जी जारी


 


काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिवविरुद्ध प्रकाउ पुर्जी जारी भएको छ ।

एमालेका सांसद समेत रहेका पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेलविरुद्ध ठगी आरोपमा पक्राउ पुर्जी जारी भएको हो ।

सप्तरीका बौआलाल चौधरीले २०७९ सालमा मोरङको रंगेली नगरपालिका २ बस्ने अनिलविरुद्ध प्रहरीले उजुरी लिन नमानेको भन्दै उच्च अदालत विराटनगरमा मुद्दा दर्ता गराएका थिए ।

उनीविरुद्धको उजुरी दर्ता गरी अनुसन्धान गर्न उच्च अदालतले मोरङ प्रहरीलाई परमादेश दिएको छ । एमबीबीएसको प्रवेश परीक्षामा नाम निकालिदिने भन्दै अनिलले ३८ लाख रुपैयाँ लिएको आरोप चौधरीको छ ।

सभापति पोखरेलले अनिललाई स्वकीय सचिवको जिम्मेवारीबाट निष्कासन गरेका छन् । सभापति पोखरेलले संघीय संसदको महासचिवलाई पत्र लेख्दै अनिललाई स्वकीय सचिव पदबाट निष्कासन गरेको जानकारी गराएका छन् ।

अनिलकुमार पोखरेल एमालेको मोरङ जिल्ला कमिटी सदस्य हुन् । २०७९ को निर्वाचनमा प्रदेशसभा सदस्यको उम्मेदवारमा जिल्ला कमिटीबाट सिफारिस भएका थिए ।

प्रकाशित मिति: १९ पुस २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्