आज ६ संसदीय समितिका बैठक बस्दै


 


काठमाडौं, पुस १९ । आज संघीय संसद्का ६ वटा समितिको बैठक बस्दै छन् । जसअनुसार अहिले बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ ।

बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवालासँग छलफल हुने जनाइएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक पनि ११ बजे नै बस्दैछ । बैठकमा नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्ध र नेपाल पर्यटन बोर्डको कार्यसम्पादन स्थितिका बारेमा छलफल हुनेछ ।

विहान ११ बजे नै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दैछ । बैठकमा नेपालमा जलवायु परिवर्तनबाट पुग्न गएको असर र यसको न्यूनीकरण गर्ने सम्बन्धमा नेपालबाट भएका प्रयासहरू तथा कोप–२९ लगायतका अन्तर्राष्ट्रिय स्तरका फोरमहरूमा नेपालको सहभागिताको अवस्था, यसमा भएका सबल तथा कमजोर पक्षहरू र आगामी दिनहरूमा यस प्रकारका सम्मेलनमा सक्रिय तथा प्रभावकारी सहभागितालाई उपलब्धिमूलक बनाउने सम्बन्धमा गर्नुपर्ने पूर्वतयारीका सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँग छलफल हुँदैछ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा छलफल हुनेछ । विधायन व्यवस्थापन समितिको बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुने संसद् सचिवालयले जनाएको छ । उक्त सबै बैठकहरु बिहान ११ बजेदेखि सुरु हुँदैछन् ।

त्यस्तै, साढे ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । बैठकमा पुरानै एजेन्डा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुनेछ ।

प्रकाशित मिति: १९ पुस २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्