चुनावका लागि सर्वपक्षीय सरकार गठन गर्न नया शक्तिको माग


 


काठमाडौं, फागुन ११

नयाँ शक्ति पार्टीले स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचनका लागि सर्वपक्षीय सरकारको गठन गर्नुपर्ने बताएको छ । नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले आज विज्ञप्ती प्रकाशित गरी चुनावको निम्ति सरकारले आवश्यक वातावरण तयार गर्ने र सबै पक्षबीच विश्वासको वातावरण तयार गर्ने काम गर्नुपर्ने बताए ।

दलीय भागवण्डामा चुनावको घोषणा गर्न थालिएकाले यो सत्ता स्वार्थका लागि र चुनाव नगर्नका लागि घोषणा गरिएको चुनावको रुपमा पनि यसलाई लिइएको विज्ञप्तीमा उल्लेख छ । नयाँ शक्तिले निर्वाचनका लागि आवस्यक वातावरण तयार गर्न संविधानप्रति असन्तुष्ट पक्षहरुको माग सम्बोधन गर्न संविधान संशोधन गर्नुपर्ने लगायत ६ वटा शर्त पूरा गर्नुपर्ने माग राखेको छ ।

प्रदेशको सीमांकनको विषय हल गर्दै स्थानीय तहको पुनरसंरचनाको विवाद अन्त गर्नु पर्ने तथा स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचनका लागि सर्वपक्षीय सरकारको गठन गर्नुपर्ने नयाँ शक्तिको सर्त छ । उसले समय र खर्चको मितव्ययीताका लागि संघ, प्रदेश र स्थानीय तह तीनवटैको निर्वाचन एकै चोटि सम्पन्न गर्न पनि माग गरेको छ ।

प्रकाशित मिति: ११ फाल्गुन २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्