आप्रवासीलाई निकाल्ने ट्रम्पको नयाँ रणनीति


 


एजेन्सी,फागुन ११

अमेरिकामा अवैध रुपमा बसोबास गर्दै आएका आप्रवासीलाई निकाल्न नयाँ रणनीति लागु गरिने भएको छ । आप्रवासीलाई हटाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको यसअघिको निर्णयको विरोध भइरहँदा ट्रम्प प्रशासनले फेरि नयाँ रणनीति लागु गर्न लागेको हो । नयाँ रणनीति अनुसार सबै भन्दा पहिले आवश्यक कागजात बिना बसिरहेका र आपराधिक गतिविधिमा संलग्न भएका आप्रवासी निशानामा पर्नेछन् ।

यस्तोमा गम्भीर आपराधिक गतिविधिमा संलग्नहरु देखि सामान्य ट्राफिक नियम मिचेका, पसलबाट सामान चोरी गरेका सम्मलाई निशाना बनाइनेछ । ट्रम्प प्रशासनको नयाँ रणनीतिले अमेरिकामा रहेका झण्डै एक करोड १० लाख मानिसलाई असर पर्न सक्ने बताइएको छ । तर ओबामा प्रशासन हुँदा अमेरिका पुगेका बालबालिकालाई भने छुट दिइने बिबिसीले जनाएको छ ।

नयाँ रणनीति लागु गर्न सुरक्षा विभागले १० हजार अतिरिक्त अधिकारी नियुक्त गर्ने तयारी गरेको छ । यसअघि केही मुस्लिम बाहुल्यता रहेका देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने ट्रम्पको निर्णय त्यहाँको अदालतले खारेज गरेको थियो ।

प्रकाशित मिति: ११ फाल्गुन २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्