स्थानीय निर्वाचनका लागि मतदाता नामावली संकलन बन्द


 


फागुन १०,

काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेसँगै मतदाता नामावली संकलन रोकिएको छ ।

निर्वाचन आयोगले प्रत्येक जिल्लाको निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालबाट नियमित रुपमा संकलन गर्र्दै आएको थियो । सोमबार सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गरेसँग नयाँ मतदाता संकलनको काम रोकिएको निर्वाचन आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले बताए ।

हालै संसदबाट पारित भएको मतदाता नामावली सम्बन्धि ऐनमा भएको व्यवस्था अनुसार ‘निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गरिने छैन ।’ मतदाता नामावली संकलन रोकिएको हो ।
यसअघि निर्वाचन आयोगले मतदाता नामावलीको अन्तिम रुप दिने अधिकार आयोगलाई दिन अनुरोध गरेको थियो । तर, संसदले निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावलीको काम रोकिने गरी ऐन बनाएपछि अब नामावली दर्ता तथा अद्यावधिकको काम रोकिएको प्रवक्ता शर्माले जानकारी दिए ।
आयोगले गत कात्तिकदेखि माघ अन्तिमसम्म ७५ वटै जिल्लामा अभियानका रुपमा मतदाता नामावली संकलन गरेको थियो । आयोगका अनुसार मतदाता संख्या कति भन्ने अन्तिम टुंग्गो लाग्न अझै एक महिना लाग्नेछ ।
आयोगले अहिलेसम्म करिब १ करोड ३८ लाखसम्म मतदाता पुग्न सक्ने अनुमान गरेको छ । दोस्रो संविधानसभामा १ करोड २१ लाखको हाराहारीमा मतदाता थिए ।

निर्वाचनको मिति घोषणा भएपछि ठूला सरुवा बढुवाको काम रोकिने निर्वाचन आयोगले जनाएको छ । सरकारले सोमबार निर्वाचनको मिति घोषणा हुनअघि १४ देशका लागि राजदूत नियुक्ति र पाँच सचिवलगायतको सरुवा गरेको थियो । एकतासाभित्र आचार संहिता जारी हुने प्रमुख निर्वाचन आयुक्त अयोधी प्रयास यादवले जानकारी दिए ।

प्रकाशित मिति: १० फाल्गुन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्