नरभक्षी बाघलाई चार हात्तीको सहयोगमा नियन्त्रणमा लिइयो
मकवानपुर, पुस १७ । मनहरी गाउँपालिकामा एक महिलाको ज्यान लिने नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको छ ।
चारवटा हात्ती र चितवन तथा पर्सा राष्ट्रिय निकुञ्चको टोलीले बाघलाई मंगलबार साँझ नियन्त्रणमा लिएको हो ।
आइतबार राति मनहरी–५ वसन्तपुर गुम्बाटोलमा बाघको आक्रमणबाट ७२ वर्षीया कान्छीमाया रुम्बा आइतबार राति मृत अवस्थामा घर नजिकै फेला परेकी थिइन् ।
बाघले सोमबार बिहान वसन्तपुरका सूर्यबहादुर मोक्तानको खोरमा पसेर सातवटा बाख्रा मारेको थियो ।
मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार पुस १५ गते सोमबार दिउँसो २ बजेबाट बाघको खोजीका लागि निकुञ्ज सुरक्षार्थ मनहरी गाउँपालिका– ३ लामिटार वेशबाट खटिएको नेपाली सेनाको चारवटा हात्तीसहितको टोली, चितवन राष्ट्रिय निकुञ्जबाट खटिएको बाघ नियन्त्रण प्राविधिक टोली चारजना र पर्सा राष्ट्रिय निकुञ्जको टोलीले बाघलाई नियन्त्रणमा लिन सफल भएको हो ।
बाघलाई मंगलबार साँझ ७ बजेको समयमा मनहरी–५ वसन्तपुरस्थित सुकौराखोलामा डार्ट प्रविधिद्वारा नियन्त्रणमा लिइएको डीएसपी अर्यालले जानकारी दिए । बाघलाई पर्सा राष्ट्रिय निकुञ्ज लगिएको छ ।
प्रकाशित मिति: १७ पुस २०८१, बुधबार