पहाडमा चन्द माओवादी र तराईमा सीके राउत सुरक्षा चुनौति


 



काठमाडौं । सरकारले मधेसमा सीके राउत र पहाडमा नेत्र विक्रम चन्द नेतृत्वको माओवादी नै निर्वाचनको लागि सुरक्षा चुनौति हुन सक्ने निष्कर्ष निकालेको छ ।
गृह मन्त्रालयमा मंगलबार तीनवटै सुरक्षा निकायका प्रतिनिधिसँग भएको छलफलमा मधेसमा सीके राउतसँगै निर्वाचन बहिस्कारको घोषणा गरेका मधेसी मोर्चाका कारण पनि शान्ति सुरक्षामा असर पुग्न सक्ने निष्कर्ष निकालेको छलफलमा सहभागि एक उच्च अधिकारीले जानकारी दिए ।
त्यसैले गर्दा सरकारले तीन तहको सुरक्षा संरचना बनाउने भएको छ । अति संवेदनशील, संवेदनशील र सामान्य पहिचान गरी सोहीअनुसार सुरक्षाको व्यवस्था गर्ने तयारी गृह मन्त्रालयले थालेको स्रोतले जानकारी दियो ।
“पहाडमा नेत्र विक्रम चन्द नेतृत्वको माओवादी, तराइमा सीके राउतसँगै निर्वाचन वहिस्कारको घोषणा गरेको मधेसी मोर्चा पनि सुरक्षा चुनौति हुन सक्छ भन्ने हाम्रो निष्कर्ष हो,” छलफलमा सहभागि स्रोतले बाह्रखरीसँग भन्यो ।

सरकारले वैशाख ३१ गते देशभर एकैसाथ स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेपछि सुरक्षा रणनीति तय गर्न वैठक बसेको थियो ।
निर्वाचनको मिति घोषणा लगत्तै मधेसी मोर्चाको आन्दोलनका कार्यक्रम सार्वजनिक भएपछि निर्वाचन सुरक्षा र आन्दोलनमा हुन सक्ने सुरक्षा चुनौतीका विषयमा गृहमन्त्रालयमा सुरक्षा निकायका प्रमुख र प्रतिनिधिबीच छलफल भएको हो ।

चुनावमा एकीकृत सुरक्षा परिचालनको तयारी गृह मन्त्रालयले गरेको र त्यसैको छलफलको लागि मंगलबार मन्त्रालयमा सुरक्षा निकायका प्रमुखसँग छलफल गरिएको गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले जानकारी दिए ।

निर्वाचन विशेष सुरक्षा योजना बनाउँदा तीनओटै सुरक्षा निकायको राय माग्ने काम भएको र त्यही अनुसार छलफल भएको उनले बताए ।

सुरक्षाको अवस्थाको विश्लेषण गरी सोहीअनुसार तयारीमा जुट्न तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरी रणनीति बनाउन बैठक राखिएको प्रवक्ता पन्थीले जानकारी दिए ।

प्रकाशित मिति: १० फाल्गुन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्