ब्यवस्थापिका संसदको बैठक सूचना टाँसेर स्थगित


 


काठमाडौं, फागुन १०

लामो समयको स्थगनपछि आजका लागि बोलाईएको ब्यवस्थापिका संसदको बैठक सूचना टाँसेर स्थगित भएको छ । संविधान संशोधन विधेयकको बिरोधमा रहेको एमाले र विधेयक अगाडि बढाउनु पर्ने मधेशी मोर्चा आवद्ध दलको अडानका कारण बैठक सूचना टाँसेर भोली अपरान्ह २ बजेसम्मका लागि स्थगित भएको हो ।

कार्यब्यवस्था परामर्श समितिको आज बसेको बैठकमा सभामुख ओनसरी घर्ती र मुख्य ८ दलका प्रमुख सचेतक सहमतिका लागि भन्दै एक दिन बैठक स्थगित गर्न सहमत भएका हुन् । स्थानीय निर्वाचन र त्यसका लागि आवश्यक राजनीतिक वातावरण निर्माणका लागि भन्दै संसद बैठक १६ दिनका लागि स्थगित भएको थियो ।

विधेयकलाई कार्यसूचीमा राखे एमालेले बिरोध गर्ने र नराखे मधेशी मोर्चाले आपत्ति जनाउने भएकाले संसद बैठक नै भोलीसम्मका लागि स्थगित गर्ने सहमति जुटेको संसद सचिवालयले जनाएको छ । निर्वाचन मिति घोषणापछिको अवस्था र संविधान संशोधन विधेयकबारे सहमति खोज्ने पहल स्वरुप प्रमुख दलहरुको बैठक आज बस्दैछ भने एमालेले समेत प्रतिपक्षी ९ दलीय मोर्चामा छलफल गरेर धारणा तय गर्ने बताएको छ ।

संविधान संशोधन विधेयक पारित नभई निर्वाचन मिति घोषणा भएको भन्दै मोर्चाले हिजै आन्दोलनका कार्यक्रम घोषणा गरिसकेको छ ।

प्रकाशित मिति: १० फाल्गुन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्