क्यानाडामा सडक दुर्घटनामा परेर नेपाली विद्यार्थीको मृत्यु


 


काठमाडौँ । क्यानाडाको लण्डनमा सडक दुर्घटनामा परी एकजना नेपाली विद्यार्थीको मृत्यु भएको छ ।

तीन साताअघि साँझ कुहिरो लागेको समयमा सडक पार गर्ने क्रममा पिकअप ट्रकले ठक्कर दिँदा फ्यान्स कलेज, लण्डनमा अध्ययनरत २२ वर्षीया सचिना श्रेष्ठको मृत्यु भएको हो । डिसेम्बर ८ तारिकमा दुर्घटमा परेपछि उनलाई स्थानीय भिक्टोरिया हस्पिटलमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

उपचारकै क्रममा उनको मृत्यु भएको क्यानेडियन प्रहरीले जनाएको छ । नेपालमा उनको घर सुनसरी भनिए पनि यकिन ठेगाना खुलिसकेको छैन ।

उनको अन्तिम संस्कार, बुबा आमाको यात्रा र अन्य आपतकालीन खर्चका लागि २५ हजार डलर उठाउने लक्ष्यका साथ ‘गो‍(फण्ड मी’ मा चन्दा संकलन शुरू गरिएको छ । उनका अभिभावक नेपालबाट गएपछि डिसेम्बर २६ साँझ ८ बजे सचिनालाई दिइएको भेन्टिलेटरको सपोर्ट हटाइएको थियो ।

अन्टारियोको लण्डनमा गत वर्षको फेब्रुअरीमा सडक दुर्घटना हुँदा दुईजना नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने अन्य ७ जना गम्भीर घाइते भएका थिए । २०२४ मा मात्रै सडक दुर्घटनामा परेर क्यानाडामा तिनजना नेपाली विद्यार्थीहरूको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति: १५ पुस २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्