अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको निधन


 


एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको निधन भएको छ ।

स्थानीय समयअनुसार आइतवार दिउँसो उनको १०० वर्षको उमेरमा निधन भएको छ । कार्टर अमेरिकाका ३९औँ राष्ट्रपति थिए ।

सन् १९७७ मा डेमोक्र्याटिक पार्टीका तर्फबाट चुनाव जितेर राष्ट्रपति बनेका कार्टरले एक कार्यकाल मात्र ह्वाइट हाउसमा बिताए । तर, सन् १९८० को चुनावमा रिपब्लिकन दलका रोनल्ड रेगनसँग पराजित भए ।

उनको राष्ट्रपतिकालका प्रमुख उपलब्धिमध्ये ‘क्याम्प डेभिड सम्झौता’लाई ऐतिहासिक मानिन्छ । यस सम्झौताबाट पहिलोपटक इजिप्टले इजरायललाई मान्यता दिएको थियो ।

यद्यपि, उनको कार्यकाल ‘इरान होस्टेज क्राइसिस’ र देशभित्रको आर्थिक मन्दीले छायामय बनेको थियो। तेहरानमा १२ महिनासम्म अमेरिकी कूटनीतिज्ञहरू बन्धक बनाइएका थिए, जसले उनको नेतृत्वलाई ठूलो चुनौती दिएको थियो ।

जोर्जामा बदाम कृषक परिवारमा जन्मिएका कार्टर राष्ट्रपति बन्नुअघि त्यहाँका गभर्नर थिए । सन् २००२ मा उनलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

पदबाट हटेपछि पनि उनले मानवाधिकार र सामाजिक न्यायका क्षेत्रमा क्रियाशील रहेर विश्वभर राजनेताको पहिचान कायम राखे । उनले स्थापना गरेको कार्टर सेन्टरले नेपालमा पनि सक्रियता देखाएको थियो ।

सन् २००७ मा नेपालमा जारी शान्ति प्रक्रियाका क्रममा उनले काठमाडौं आएर विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गरेका थिए ।

साथै, सन् २००८ र २०१३ मा भएको संविधानसभा निर्वाचनको पर्यवेक्षणका लागि पनि उनी नेपाल आएका थिए ।

प्रकाशित मिति: १५ पुस २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्