आज फेरि बजारबाट ७० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूसँग भएको अधिक तरलता व्यवस्थापन गर्न निक्षेप संकलन उपकरण जारी गरेको छ ।
तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।
हरेक दिनजसो राष्ट्र बैंकले बजारबाट पैसा झिक्दै आएको छ । वित्तीय प्रणालीमा पैसा धेरै भएकै कारण ब्याजदर निकै तल नझरोस् भन्नकै लागि राष्ट्र बैंकले केही दिनको अन्तरमा बजारबाट पैसा झिक्दै आइरहेको छ ।
अन्तर बैंक दर तीन प्रतिशतभन्दा तल झरेपछि फेरि बजारबाट पैसा झिक्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।
निक्षेप संकलन खरिदका लागि आज (आईतबार) दिउसो २ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ ।
घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।
प्रकाशित मिति: १४ पुस २०८१, आइतबार