कालिकोटमा भूकम्प, दुई सातामा पश्चिम नेपालमा ७ पटक भूकम्प
काठमाडौँ, पुस १३ । शुक्रबार राति कालिकोटमा भूकम्प गएको छ ।
राति ११ बजेर ३७ मिनेटमा कालिकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर ३ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
पश्चिम नेपालका विभिन्न जिल्लामा करिब दुई साताको अवधिमा सात पटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस महिना लागेयता मनाङ, बाजुरा लगायत जिल्लामा भूकम्प गएको हो ।
पुस २ गते बझाङको धामेना आसपास केन्द्रबिन्दु बनाएर ४ दशमलव ३, पुस ३ गते बझाङको धामेनामै ४ दशमलव १ म्याग्निच्यूडको भूकम्प गएको थियो । पुस ४ गते मनाङको नेस्याङ केन्द्रबिन्दु भएर ४ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको थियो ।
यसैगरी, पुस ६ गते बाजुरामा ५ दशमलव २ म्याग्निच्यूडको भूकम्प गएको थियो भने पुस ९ गते ९ बजेर २५ मिनेट जाँदा दार्चुलाको अपि हिमाल आसपास केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्यूड र पुस ११ गते जाजरकोट नायकवाडा केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्यूडको भूकम्प गएको केन्द्रले जनाएको छ ।
प्रकाशित मिति: १३ पुस २०८१, शनिबार