स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य


 


ढोरपाटन (बागलुङ), ११ पुस । यहाँको निसीखोला र तमानखोला गाउँपालिका जिल्लाकै विकट स्थानीय तह मानिन्छन् । यी दुवै पालिकामा पछिल्लो समय मातृशिशु मृत्युदर शून्यमा झरेको छ ।

स्थानीय सरकारले स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरेपछि दुई वर्षदेखि मातृशिशु मृत्युदर शून्यमा झरेको हो । गाउँका स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर स्थापना र सेवा प्रभावकारी बनेपछि मातृशिशु मृत्युदर शून्यमा झरेको निसीखोला गाउँपालिकाकी स्वास्थ्य शाखा प्रमुख जुनी घर्ती मगरले बताउनुभयो ।

सामान्य रोगको उपचार गर्न घण्टौँ धाउनुपर्ने यी पालिकाका नागरिकले हाल एक घण्टामै स्वास्थ्य सेवा लिन पाएको उहाँको भनाइ छ । नियमित गर्भ परीक्षणदेखि गाउँ–गाउँमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दा निसीखोलामा आमा र बच्चाको मृत्यु हुन छोडेको उहाँ बताउनुहुन्छ । आर्थिक वर्ष २०७९/८० मा दुई जना आमा र शिशुको मृत्यु भएको थियो । पालिकाले नियमित गर्भ जाँच गर्न स्वास्थ्य संस्था आउनेलाई यातायात खर्च दिने गरेको घर्तीको भनाइ छ । उहाँले भन्नुभयो, “पहिले यस क्षेत्रमा जनचेतनाको कमी थियो, एकै जनाले धेरै बच्चा जन्माउने प्रचलन थियो, तर अहिले कम भएको छ ।” निसीखोलामा पहिले चार वटा स्वास्थ्य चौकी रहेकामा हाल तीन आधारभूत स्वास्थ्य इकाइ र तीन सामुदायिक स्वास्थ्य इकाइ थपिएका छन् । वर्थिङ सेन्टर प्रत्येक वडामा स्थापना गरिएको छ ।

गाउँपालिकाले स्वास्थ्यचौकी आउने गर्भवतीलाई दूरीका हिसाबले एकहजार पाँच सयदेखि दुई हजार पाँच सयसम्म भत्ताको व्यवस्था गरेको घर्तीले जानकारी दिनुभयो ।

तमानखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलबहादुर छन्त्यालले बर्थिङ सेन्टरको सङ्ख्या वृद्धि गरेर सेवा दिन थालेसँगै महिला सचेत भएको र मातृशिशु मृत्युदर शून्य भएको बताउनुभयो । पहिले धामीझाँक्रीमा विश्वास गर्ने र स्वास्थ्य संस्था टाढा हुँदा धेरै आमा र बच्चाले ज्यान गुमाउनु परेको उहाँको भनाइ छ । तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले स्वास्थ्य क्षेत्रमा धेरै सुधार गरेको बताउनुभयो ।

पहिले तीन वटा स्वास्थ्यचौकी मात्रै रहेको तमानखोलामा हाल वडा नं– ६ को नर्जाखानी, नं ४ को लाम्मेला र वडा नं २ को बोङ्खानीमा सामुदायिक स्वास्थ्य इकाइ तथा वडा नं १ को सम्मर, वडा नं २ को सिल्गुम र वडा नं ५ को थास्पुरीमा प्राथमिक स्वास्थ्य परामर्श केन्द्र सञ्चालन गरेको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति: ११ पुस २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्