भोलिबाट संविधान संशोधन विधेयक अघि बढ्ने


 


काठमाडौं ,फागुन ९

सरकारले संविधान संशोधन विधेयकलाई मंगलबारबाट संसदमा अघि बढाउने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संविधान संशोधन विधेयकमाथि मंगलबारबाट सैद्धान्तिक छलफल सुरु गर्ने निर्णय गरेको हो।

साथै बैठकले स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन अध्यन गरी सुझाव दिन गठित समितिको म्याद ७ दिन थप गर्ने निर्णय गरेको छ। तराई मधेसमा स्थानीय तहको संख्या थप्ने सुझाव मनासिव देखिएकाले कति संख्या थप्नु पर्ने हो भन्ने कुरासमेत खुलाइ अर्को प्रतिवेदन पेश गर्न सोही समितिलाई ७ दिनको समय दिइएको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए।

सरकारले यसअघि नै संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेको संयोजत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो। सो समितिमा आपूर्तिमन्त्री दिपक बोहरा र उद्योगमन्त्री नविन्द्रराज जोशी सदस्य छन्। बैठकले स्थानीय तहको निर्वाचनको मितिबारे भने कुनै निर्णय गरेन।

त्यसका लागि सोमबार नै अर्को बैठक बस्ने तयारी भइरहेको छ। मन्त्रिपरिषद्को बैठक दिउँसो २ बजेका लागि तय भएको सिँचाइमन्त्री दिपक गिरीले जानकारी दिए।

प्रकाशित मिति: ९ फाल्गुन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्