सहकारीको पैसाबाट रवि लामिछानेलाई ‘मिडिया’ को सेयर !
लेखनाथ । पूर्वगृहमन्त्री रवि लामिछानेले सूर्यदर्शन बचत तथा ऋण सहकारी, पोखराकै रकमबाट गोरखा मिडिया नेटवर्क (ग्यालेक्सी फोरके टिभी) को १५ प्रतिशत सेयर लिएको देखिएको छ ।
२०७७ साल भदौमा दर्ता भएको मिडियाको पुँजी पाँच करोड रुपियाँ रहेकोमा त्यसको १५ प्रतिशत (७५ लाख रुपियाँ) सूर्यदर्शनबाटै रकमान्तर गरिएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहनुभएका लामिछाने गोरखा मिडियाको करिब डेढ वर्ष प्रबन्ध निर्देशक हुँदा सबैजसो कारोबारमा संलग्न भएको पाइएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय कास्कीले आइतबार जिल्ला अदालत कास्कीमा बुझाएको अभियोगपत्रमा लामिछानेले नै गोरखा मिडियाको ९५ प्रतिशतभन्दा बढी कारोबार गर्ने गरेका प्रमाण संलग्न छन् ।
स्थापना भएको पहिलो दुई वर्षमै १६ करोड रुपियाँ घाटामा रहेको गोरखा मिडियाले कर्मचारीलाई दुई अर्ब ५८ करोड रुपियाँ ऋण तथा पेस्की दिएको छ । रविले डेढ वर्षमा एक करोड चार लाख तलब बुझेको देखिएको छ ।
कम्पनीले तलबसम्बन्धी शीर्षकको एक करोड ३६ लाख रुपियाँ करसमेत तिर्न बाँकी रहेको संसदीय छानबिन समितिको प्रतिवेदनमा औँल्याइएको छ ।
बयानका क्रममा लामिछानेले सबै आर्थिक कारोबार गितेन्द्रबाबु (जिबी) राईले गर्ने गरेको जिकिर गरे पनि प्रमाणहरूले त्यसलाई खण्डित गरेका छन् । उहाँले एकल हस्ताक्षरमा मिडियाको कारोबार गर्दै एक हजार २३७ वटा चेक काटेको भेटिएको छ । गोरखापत्रबाट
प्रकाशित मिति: ११ पुस २०८१, बिहिबार