ललितपुर हत्या प्रकरणमा पक्राउ परेका एक जना रिहा, २ जनामाथि अनुसन्धान जारी
काठमाडौं । ललितपुरको च्यासलमा एक युवकमाथि चच्कु प्रहार गरी हत्या गरेको प्रकरणमा पक्राउ परेका मध्ये एक जनालाई प्रहरीले रिहा गरेको छ ।
सुनसरीको इटहरीका २३ वर्षीय नयन गुरुङको हत्या आरोपमा पक्राउ परेकामध्ये दार्चुलाका ४१ वर्षीय पदमलाल भट्टलाई प्रहरीले रिहा गरेको हो ।
गुरुङको हत्या आरोपमा प्रहरीले भट्टसहित तीन जनालाई पक्राउ गरेको थियो । तर, प्रारम्भिक अनुसन्धानकै क्रममा पदमलालको संलग्नता नखुलेपछि रिहा गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
अहिले डडेलधुराको पर्शुराम नगरपालिका–११ घर भइ ललितपुर महानगरपालिका–९ च्यासलस्थित टद टाउन क्याफेको काउन्टरमा काम गर्ने २६ वर्षीय हेमराज भट्ट र काभ्रेको मण्डनदेउपुर नगरपालिका-११ घर भइ सोही क्याफेमा काम गर्ने जनकबहादुर तामाङलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
उनीहरुविरुद्ध कर्तव्य ज्यानको कसुरमा म्याद लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ । उनीहरू मध्ये हेमराज भट्टले चक्कु प्रहार गरेको जनाइएको छ ।
बेलुका डिनर खाएको बिल तिर्ने विषयमा विवाद हुँदा चक्कु प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
गम्भीर घाइते भएका उनलाई उपचारका लागि ग्वार्कोस्थित बिएण्डबी अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको राति १० बजे मृत्यु भएको थियो ।
प्रकाशित मिति: १० पुस २०८१, बुधबार