सहकारी ठगी प्रकरणमा प्रतिवादीहरूको बयान जारी


 



गण्डकी, ९ पुस । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच प्रतिवादीलाई बयानका लागि अदालतमा पेस गराइएकामा प्रतिवादी छविलाल जोशीको बयान आज सकिएको छ ।

नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक (डीआइजी) समेत रहनुभएका जोशीको जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा दुई दिन लगाएर बयान लिइएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयो । जोशीको बयान सकिएपछि अर्का प्रतिवादी लीला पछाइको बयान सुरु गरिएको उहाँले बताउनुभयो । 

पछाइको बयान सकिएपछि इजलासले तोकेअनुसार अर्का प्रतिवादीको बयान सुरु हुने सूचना अधिकारी अधिकारीले बताउनुभयो । सहकारी ठगी मुद्दामा लामिछाने, जोशी, पछाइ, कृष्णबहादुर गुरुङ र रामबहादुर खनाललाई बयानका लागि सोमबार अदालतमा उपस्थित गराइएको थियो । सबै प्रतिवादीको बयान सकिएपछि मात्र थुनछेकको बहस र आदेश हुने जनाइएको छ ।

यसअघि आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेलगायत विरुद्ध मुद्दा दायर गरेको थियो । 

प्रकाशित मिति: ९ पुस २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्