फ्रेन्चाइज भलिबल प्रतियोगिताको लोगो र नारा सार्वजनिक


 


काठमाडौँ, ९ पुस । नेपालमा पहिलो पटक आयोजना हुन लागेको पुरुष फ्रेन्चाइज नेपाल भलिबल लिग प्रतियोगिताको लोगो र नारा सार्वजनिक गरिएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र केडिया ग्रुपका अध्यक्ष विमल केडियाले संयुक्त रुपमा राष्ट्रको झण्डा झल्किएको लोगो र ‘उचाइको नयाँ उडान’ नामक नाराको अनावरण गर्नुभयो । त्यस अवसरमा मन्त्री चौधरीले निजी क्षेत्रको आकर्षणले नेपाली खेलकुद क्षेत्रको विकासमा सघाउ पुग्ने बताउनुभयो ।

केडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत अश्विन केडियाले लिगमा विभिन्न छ टोलीको सहभागिता रहने जानकारी दिनुभयो । उक्त प्रतियोगिताकोे सञ्चालनको मिति र टोली भने चाँडै सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

पुरुष भलिबलको फ्रेन्चाइज लिगका लागि नेपाल भलिबल सङ्घ र केडिया ग्रुपबीच यसअघि नै सात वर्षका लागि सम्झौता भएको थियो ।

कार्यक्रममा श्रीलङ्कामा आयोजना भएको काभा यु–२० पुरुष भलिबलको रजत विजेता नेपाली यु–२० राष्ट्रिय टोलीलाई सम्मानसमेत गरिएको छ । श्रीलङ्कामा पहिलो पटक आयोजना भएको उक्त च्याम्पियनसिपमा नेपालले रजत पदक जितेको थियो ।

प्रकाशित मिति: ९ पुस २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्