संविधान संशोधनका लागि केही दिनमै कार्यदल बनाउछौं : गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान संशोधनका लागि कांग्रेस र एमालेले केही दिनमै कार्यदल बनाउने बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । उनले केही दिनभित्रै संयन्त्र बनाएर संविधान संशोधनको पहल सुरु गर्ने बताए।
उनले १० वर्षको अभ्यासका क्रममा देखिएका संविधानका सबल र दुर्बल पक्षको समीक्षा गरेर संविधान संशोधन गर्ने बताए।
गृहमन्त्री लेखकले भने,‘हामी तत्कालै सरकारमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेको एउटा संयुक्त कार्यदल बनाएर संविधान संशोधनको छलफलको प्रक्रियालाई प्रारम्भ गर्दैछौं ।’
गृहमन्त्री लेखकले संविधान संशोधन समावेशितालाई कमजोर गर्ने नभई थप सुदृढ गर्नका लागि हुने बताए । उनले संविधानको संशोधन केही पार्टीको निर्णयले मात्रै नहुने बताए ।
संविधान संशोधनको क्रममा सबै राजनीतिक दलहरूसँग वार्ता र संवाद गर्ने र पहिचान गरिएका विषयहरूमा सहमति गरेर मात्रै संविधान संशोधन गर्ने उनले स्पष्ट पारे।
गृहमन्त्री लेखकले सरकार संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्नेमा प्रतिबद्ध रहेको बताए ।
प्रकाशित मिति: ९ पुस २०८१, मंगलबार