सरकार सञ्चालनबाट जनता सन्तुष्ट छैनन्: नेतृ सङ्ग्रौला


 


बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले वर्तमान सरकार सञ्चालनले जनता सन्तुष्ट नभएको टिप्पणी गरेकी छन् । रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेशले बुटबलमा आयोजना गरेको साक्षात्कारमा नेतृ सङ्ग्रौलाले जुन उद्देश्यका साथ सरकार गठन भएको हो, त्यो उद्देश्य पुरा गर्न सफल नभएको जिकिर गरिन् । तत्काल संविधान संशोधनको प्रक्रिया अगाडी बढाउनुपर्ने कुरामा नेतृ सङ्ग्रौलाको जोड थियो ।

कांग्रेसले सञ्चालन गरेको १०० दिने अभियानको क्रममा जनतासँग पुग्दा जनताले विकासको अनुभूति नगरेको र सरकार सञ्चालनमा भएकाहरू अलमलिएको प्रतिक्रिया दिने गरेको बताइन् । कांग्रेसले सञ्चालन गरेको अभियान सङ्गठनलाई मजवुद बनाउन, जनतासँग नेताहरू पुगी समस्या पहिलाउन र समाधान गर्नका लागि देशभर प्रतिनिधि खटाइएको बताइन् ।

समयमै कांग्रेसको महाधिवेशन हुने कुरामा विश्वस्त भएको उनले बताइन् । वर्तमान सत्ता गठबन्धन सत्ताको लागि मात्र नभएर अस्थिरताको अन्त्य सँगै संविधान संशोधनकै लागि कांग्रेस–एमाले एक ठाउँमा आएको सङ्ग्रौलाले बताइन् ।

संविधान संशोधनमा निर्वाचन प्रणाली सहितका संरचना संशोधन गर्नका लागि प्रक्रिया अगाडी बढेको बताएकी नेतृ सङ्ग्रौलाले कार्यदल मार्फत अगाडी बढाउने बताइन् । वर्तमान सरकार विधिको शासनलाई पालना गर्दै स्टन्टबाजी गर्नेहरुलाई, भ्रष्ट्राचार गर्नेलाई कारबाही गर्ने, जोकोही भएपनि कसैलाई छोड्न नहुने बताइन् ।

प्रकाशित मिति: ९ पुस २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्