रवि लामिछानेको थुनछेक बहस आजबाट
पोखरा, पुस ९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा निलम्बित सांसद रबि लामिछानेको थुनछेक बहस आज (मंगलबार) बाट हुने भएको छ ।
थुनछेक बहसका लागि उनलाई हिजो अदालतमा लगिए पनि पालो आएको थिएन । उनलाई अदालत लगिएसंगै उनी संघीय संसदको सांसद पदबाट पनि निलम्बनमा परेका छन् ।
कास्की अदालतको इजलासले सुनुवाइ सकिएपछि रवि लगायतलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा पठाउने भन्नेबारे आदेश दिनेछ । सरकारी वकिलको कार्यालय, कास्कीले लामिछाने, छविलाल जोशीसहित ४४ जनालाई आइतबार सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो ।
पाँच जनालाई बिगो अनुसारको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएको छ ।
पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेको दिनदेखि ९२औं दिनमा सरकारले आइतबार अभियोगपत्र दर्ता गरेको हो । लामिछानेविरुद्ध भने तीन वटा कसुरमा मुद्दा दर्ता भएको छ । लामिछानेविरुद्ध सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अभियोग पत्र दर्ता गरिएको छ ।
प्रकाशित मिति: ९ पुस २०८१, मंगलबार