हुम्लामा हिमपात, तापक्रम ‘माइनस’मा
हुम्ला, पुस ९ । हुम्लामा गएरातिदेखि हिमपात भएको छ ।
प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला सदरमुकाम सिमकोटमा हिमपात भएको जानकारी दिए ।
उनका अनुसार उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा एक फिटसम्म हिउँ जमेको छ । जिल्लामा हिमपातसँगै चिसो अत्यधिक बढेको छ ।
जिल्लाका नाम्खाका लिमी, यारी, हल्जी, तील, हिल्सा चालालगायतका गाउँमा हिमपातले जनजीवन प्रभावित बनाएको छ । चिसोका साथै हिमपात हुँदा आवतजावतमा समेत समस्या भएको छ ।
सदरमुकाम सिमकोटको तापक्रम अहिले ‘माइनस’मा पुगेको छ । जिल्लाको दक्षिण भेगमा भने वर्षा भइरहेको जनाइएको छ ।
प्रकाशित मिति: ९ पुस २०८१, मंगलबार