सुदूरपश्चिमबाट मौसम बदली सुरु, अत्यधिक चिसो बढ्ने
काठमाडौं, पुस ९ । सुदूरपश्चिमबाट सोमबार साँझदेखि मौसममा बदली सुरु भएको छ ।
मौसम बदली विस्तारै देशभर फैलिने क्रममा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज राति कणाली प्रदेशमा मौसममा बदली हुनेछ भने विस्तारै गण्डकी र लुम्बिनीसम्म पुग्ने महाशाखाले जनाएको छ ।
दिउँसोसम्म बदली कायम रहने र बुधबारदेखि केही कमजोर हुँदै जाने महाशाखाका मौसमविद् रोजन लामिछाने बताए । उनका अनुसार अहिले वर्षा भने भइसकेको छैन ।
राति र बिहान उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने र अन्य केही क्षेत्रमा हल्ला वर्षा हुनसक्ने सम्भावना रहेको उनले जानकारी दिए ।
हाल देशको सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
आगामी २४ घण्टामा बागमती प्रदेश र मधेस प्रदेशको थोरै स्थान तथा कोशी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको महाशाखाले जानकारी गराएको छ ।
मौसममा बदली भएसँगै थप चिसो बढ्ने भएको छ । विभागको अभिलेखमा हाल काठमाडौँको न्यूनतम तापक्रम चार दशमलव तीन डिग्री रहेको छ । यसअघि पुस ४ गते काठमाडौँको तापक्रम चार दशमलव आठ डिग्री थियो ।
प्रकाशित मिति: ९ पुस २०८१, मंगलबार