धरानमा सङ्गीत जात्रा महोत्सव सुरु


 


सुनसरी, ८ पुस । “गीत, सङ्गीत र मनोरञ्जन, धरानको समृद्धिका लागि पर्यटन प्रवर्द्धन” भन्ने मूल नाराका साथ धरानमा ११ दिने सङ्गीत जात्रा महोत्सव सुरु भएको छ ।

मौलिक तथा जातीय भेषभुषा, सांस्कृतिक प्रदर्शनी, अर्गानिक खाद्यान्नलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित महोत्सव आइतबारबाट धरान उपमहानगरपालिका–१५ बगरकोटमा सुरु भएको महोत्सव यही पुस १७ गतेसम्म चल्ने छ । महोत्सवले धरानको खस्कँदो अर्थतन्त्रलाई चलायमान बनाउने धरान उपमहानगरपालिका–१५ का वडाध्यक्ष नरेश ईवारमले बताउनुभयो ।

महोत्सवको पहिलो दिन किरातीहरुको साकेला सिली र लिम्बुहरुको च्याब्रुङ प्रदर्शन गरिएको थियो । महोत्सव अवधिभर थप मनोरञ्जन प्रदान गर्न राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहने आयोजकले जनाएको छ । महोत्सवको आयोजक नेचर क्लब धरान र निशान त्रिभ्याली विकास संस्था धरान–१५ रहेको छ भने सह आयोजक त्रिवेणी महिला समूह रहेको छ ।

महोत्सवमा ५० वटा स्टल रहेको महोत्सवका संयोजक तथा सल्लाहकार दीपचन्द्र राईले जानकारी दिनुभयो । महोत्सव अवधिभर कलाकारहरु सविन राई, ज्योती मगर, आस्था राउत, एकदेव लिम्बू, द एलिमेन्ट, समिर श्रेष्ठ, ट्राइवररेन (सिक्कीम), अनमोल गुरुङ (कालिम्पोङ), रक हेड्स, अस्मिता अधिकारी, प्रजिना लामिछाने, वर्षा आचार्य, तथा स्थानीय ब्यान्डहरु सुरज एण्ड ट्रियो, आरोही, बदमास एण्ड ब्याण्ड, द क्राइसिस, उर्जा ब्याण्ड, लासोज ब्याण्ड, द फ्लो नेपाललगायतको प्रस्तुति रहने जनाइएको छ । —

प्रकाशित मिति: ८ पुस २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्