जनकपुरले एनपीएलको उपाधि जितेपछि सखुवा प्रसौनीमा सार्वजनिक बिदा
काठमाडौं, पुस ७ । जनकपुर बोल्ट्सले पहिलो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको उपाधि जितेको खुसीयालीमा आज (आइतबार) पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सार्वजनिक बिदा दिइएको छ ।
मधेस प्रदेशको प्रतिनिधित्व गरेको जनकपुरले एनपीएलको उपाधि जितेर ऐतिहासिक उपलब्धि हासिल गरेकाले खुसीयाली मनाउन आज बिदा दिएको गाउँपालिकाले निकालेको सूचनामा उल्लेख छ ।
आज स्वास्थ्य चौकीका अत्यावश्यक सेवा बाहेक पालिका अन्तर्गतका सबै कार्यालय बन्द रहने सखुवा प्रसौनी गाउँपालिकाले जनाएको छ ।
हिजो भएको एनपीएलको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै जनकपुर बोल्ट्सले उपाधि जितेको हो ।
प्रकाशित मिति: ७ पुस २०८१, आइतबार