पश्चिम क्षेत्रबाट दोस्रो हिउँदे वर्षाको सम्भावना
काठमाडौं, पुस ७ । देशको पश्चिमी क्षेत्रबाट सोमबारदेखि दोस्रो हिउँदे वर्षाका सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार दोस्रो हिउँदे वर्षा सोमबार रातिदेखि मंगलबारसम्म पश्चिम नेपालमा हुने सम्भावना छ । यो वर्षा मुख्यतया पहाडी र हिमाली भेगमा मात्र हुने सम्भावना छ ।
हिमाली क्षेत्रमा आंंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको उल्लेख छ । पहाडी क्षेत्रमा आंंशिक बदली रही एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
सुदूरपश्चिमकै तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको महाशाखाले बताएको छ ।
आइतबार भने दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा बदली हुने महाशाखाले जनाएको छ । बाँकी भूभागमा मौसम सफा रहनेछ ।
राति कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: ७ पुस २०८१, आइतबार