मोतियाविन्दु पहिचान भएका ८१ जनाको शल्यक्रिया
सिरहा, ५ पुस । जिल्लाको सुखीपुर नगरपालिकाका दुई स्थानमा सञ्चालित निःशुल्क आँखा शिविरबाट मोतियाविन्दुको पहिचान भएका ८१ जनाको सफल शल्यक्रिया गरिएको छ ।
सुखीपुर युवा सञ्जालले आयोजना गरेको निःशुल्क आँखा शिविरबाट पाँच सय ५० जना स्थानीय लाभान्वित भएकामा ८१ जनामा मोतियाविन्दु पहिचान भएको थियो ।
मोतियाविन्दु पहिचान भएका सबैको बिहीबार कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा सफल शल्यक्रिया गरिएको सञ्जालका सञ्चालक शिव यादवले जानकारी दिनुभयो । उहाँका अनुसार गत मङ्सिर २९ गते सुखीपुर–२ स्थित सामुदायिक विद्यालयमा र मङ्सिर ३० गते सुखीपुर–१० दहिपौडीस्थित सामुदायिक विद्यालयको प्राङ्गणमा शिविर सञ्चालन गरिएको थियो ।
शिविरमा तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँ, रामलाल गोल्छा आँखा अस्पताल विराटनगर र स्वास्थ्य ट्रस्ट फाउण्डेशन सिरहाका प्राविधिक तथा चिकित्सकले सेवा दिएका आयोजकले जनाएको छ ।
शिविरमा बिरामीलाई औषधि निःशुल्क वितरण गरिनुका साथै चस्मा आवश्यक पर्ने बिरामीलाई २० प्रतिशत छुटमा चिकित्सकको सल्लाह अनुसार उपलब्ध गराइएकोे सञ्जाल सञ्चालक शिव यादवले उल्लेख गर्नुभयो । आगामी दिनमा पनि ग्रामीण क्षेत्रमा यस्ता शिविर सञ्चालन गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
प्रकाशित मिति: ५ पुस २०८१, शुक्रबार