घान्द्रुकमा स्कार्पियो दुर्घटना हुँदा एक जनाको मृत्यु, ४ घाइते
पोखरा, पुस ५ । कास्कीको पर्यटकीय क्षेत्र घान्द्रुकमा हिजो (बिहीबार) स्करपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् ।
पोखराबाट घान्द्रुकतर्फ जाँदै गरेको ग १ ज ६८२१ नम्बरको स्करपियो गाडी दिउँसो पौने २ बजे अन्नपूर्ण गाउँपालिका १०, विकासे डाँडामा सो दुर्घटना भएको हो ।
दुर्घटनामा परी मुस्ताङको थासाङ गाउँपालिका १, टुकुचेकी ७० वर्षीया भीमकुमारी थकालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा पोखरा १६, दीपकी २० वर्षीया रिहाना थकाली, मुस्ताङको थासाङ गाउँपालिका १, टुकुचेकी ३१ वर्षीया ज्योति खत्री थकाली, बागलुङको गलकोट नगरपालिका १, झाँकीस्थानकी ७६ वर्षीया खिमकुमारी खत्री र सोही ठाउँकी करिब ५२ वर्षीया नवीना छन् । उनीहरुको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको शरीरका विभिन्न भागमा चोट लागेको छ ।
गाडीमा सवार बागलुङ गलकोट १, झाँकीस्थाकी ४० वर्षीया अनिता खत्री भने सकुशल छिन् ।
चालकले गियरमा छाडेर अगाडि बाटो हेर्न जानेक्रममा एक्कासि गाडी सडकदेखि करिब ६ सय मिटर तल खसेको हो ।
सवारीचालक स्याङ्जाको भिरकोट २, डाँडाकोटका ४३ वर्षीय गोविन्द श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रकाशित मिति: ५ पुस २०८१, शुक्रबार