यू–१९ महिला एसिया कप : फाइनलमा पुग्न नेपालले आज बंगलादेशसंग खेल्दै


 


काठमाडौँ, पुस ५ । यू–१९ महिला एसिया कप टी–२० क्रिकेटको सुपर फोरको दोस्रो खेलमा नेपालले आज फाइनलमा पुग्न बंगलादेशसँग खेल्दैछ ।

खेल मलेसियाको क्वालालम्पुरमा बिहान ११ः४५ बजेदेखि शुरु हुँदैछ । फाइनलमा पुग्नका लागि नेपाललाई यो खेल जित्नैपर्ने दबाब रहेको छ ।

नेपालको समूहबाट नेपाल र भारत तथा अर्को समूहबाट श्रीलंका र बंगलादेश सुपर फोरमा पुगेका हुन् ।

सुपर फोरमा नेपालले पहिलो खेल श्रीलंकासँग खेलेकामा वर्षाले रद्ध भइ अंक बाँड्नु परेको थियो ।

शीर्ष दुईमा रहने टिमले उपाधिका लागि फाइनल खेल्ने भएकाले नेपाललाई बंगलादेशमाथि जित्नैपर्ने दबाब छ ।

अर्को समूहका टिमसँग एक/एक खेल खेल्ने नियमानुसार नेपालले बिहीबार श्रीलंकासँग खेलेको थियो भने आज बंगलादेशसँग खेल्ने भएको हो ।

अंक तालिकामा भारतको ५ अंक छ भने बंगलादेश र नेपालको ४/४ अंक छ । श्रीलंकाको ३ अंक छ ।

आज भारतले श्रीलंकासँग पराजय भोगे पनि फाइनलमा पुग्नेछ । नेपालले बंगलादेशलाई हराउन सक्यो भने फाइनल खेल भारतसँग हुनेछ ।

समूह चरणको खेलमा वर्षाले गर्दा नेपाल र भारतको खेल रद्ध भएको थियो । सुपर फोरको पहिलो खेलमा नेपालले श्रीलंकासँग अंक बाँडेको छ ।

प्रकाशित मिति: ५ पुस २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्