रवि लामिछानेविरुद्ध आज अदालतमा अभियोजन गर्ने तयारी


 


काठमाडौं, पुस ५ । सूर्यदर्शन सहकारीको रकम अपचलनको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध आज (शुक्रबार) जिल्ला सरकारी वकिल कार्यालय कास्कीले अदालतमा अभियोजन गर्ने तयारी गरेको छ ।

सरकारी वकिल कार्यालय कास्कीकी जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले आज अदालतमा अभियोग पत्र दर्ता गर्ने तयारी रहेको बताइन् । सरकारी वकिल कार्यालयले मिसिल अध्ययन अध्ययन र अभियोगपत्र तयार पार्न ४ दिनको समय बाँकी राखिएको थियो । सो समय आज सकिँदैछ ।

कार्यालयले रविविरुद्ध तीनवटा अभियोग दर्ता गर्दैछ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता गर्नेगरी अभियोग पत्र तयार भइरहेको कार्यालयले जनाएको छ ।

झण्डै ६ सय पृष्ठ लामो प्रहरी मिसिलमा गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि, उनका पार्टनर एवं गोरखा मिडियाका सञ्चालक पूर्वडीआईजी छविलाल जोशी बञ्जाडे, लीला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङसहित ५१ जनालाई प्रतिवादी बनाइएको छ ।

सहकारीको ऋण तिर्न रविले काटेका चेक प्रहरीले बरामद गरेको छ । यसलाई पनि प्रहरीले सहकारी ठगीको प्रमाणको रूपमा लिएको छ ।

गोरखा मिडिया र सुप्रिम सहकारीमाथि अनुसन्धानका क्रममा लामिछानेले काटेको चेक फेला परेपछि उनलाई चेकको प्रतिलिपि देखाएरै सोधपुछ गरिएको थियो । प्रहरीले ५१ जना प्रतिवादीविरुद्ध १ अर्ब ५१ करोड रुपैयाँ माग दाबी लिएर मुद्दा दर्ता गर्न सरकारी वकिल कार्यालयमा राय पेश गरेको थियो ।

प्रकाशित मिति: ५ पुस २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्