भ्युटावर हेर्न गएका कर्मचारी डेढ महिनादेखि सम्पर्कविहीन


 


कञ्चनपुर, पुस ५ । मनाङको चामेमा भ्युटावर हेर्न गएका कञ्चनपुरको बेदकोट नगरपालिका–९ सुन्दरपुरका तारणीप्रसाद पन्त बेपत्ता भएको ५४ दिनसम्म पनि सम्पर्कमा आएका छैनन् ।

मनाङको चामेस्थित नेपाल बैंक लिमिटेडमा चौथो तहमा कार्यरत पन्त कात्तिक १० गतेदेखि सम्पर्कविहीन भएका हुन् ।

उनीसंगै भ्युटावर हेर्नका लागि सहकर्मी अर्जुन खड्का भ्युटावर चढ्न नसक्ने भनेपछि बीच बाटोबाट फर्केका थिए । त्यसपछि पन्त एक्लै भ्युटावरको उकालो चढेका हुन् । भ्युटावरको उकालो चढेका पन्त साँझ ४ः४५ मिनेटमा खड्कासँग कुराकानी भएको पन्तका परिवारका सदस्य बताउँछन् ।

राति अबेरसम्म नआएपछि खड्कालगायत बैंकका कर्मचारीले कुरा गर्न खोजे, तर राति १०ः४५ बजेसम्म मोबाइल फोनमा घण्टी बजे पनि फोन उठाइएन, त्यसपछि ‘स्वीचअफ’ भयो ।

सम्पर्कविहीन भएको खबर कात्तिक १० गते राति ११ः०० बजे बैंकमा कार्यरत अर्चना बुढाथोकीले फोन गरेर जानकारी दिएको तारणीका भाइ विष्णुदत्त पन्तले बताए ।

उनी सम्पर्कविहीन भएको खबर पाइएपछि घरका चार जना सदस्य मनाङको चामे पुगेका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, बैंकका कर्मचारी र स्थानीय व्यापारी मिलेर सम्पर्कविहीन भएको क्षेत्र वरपर खोजतलास गरेपनि उनी फेला परेनन् । अहिले पन्त परिवारमा तनावको स्थिति छ । केही दिनअघि मात्र पनि तारणीको खाजीका लागि उनको परिवार पुनः मनाङ पुगेका थिए ।

तारणीको मोबाइलको अन्तिम लोकेसन मनाङको चामेमै देखिएको छ । बैंकका तर्फबाट ड्रोन क्यामेरा र हेलिकप्टरको सहायताले समेत खोजतलास गरिएको थियो ।

प्रकाशित मिति: ५ पुस २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्