एसइईमा अब ‘एनजी’ आएको विषयको मात्रै परीक्षा दिन पाइने


 


काठमाडौँ, पुस ४ । यस वर्षदेखि एसइईमा विद्यार्थीले अघिल्लो वर्ष ‘नो ग्रेड’ (एनजी) आएको विषयको मात्रै परीक्षा दिन पाउने व्यवस्था मिलाइएको छ ।

यसैवर्षदेखि लागू हुने गरी परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले उक्त व्यवस्था लागू गर्न लागेको हो ।

यो व्यवस्था लागू गर्न लेटर ग्रेडिङ निर्देशिका २०७८ संशोधन गरी जुन विषयमा एनजी आएको हो त्यही विषयको मात्रै परीक्षा दिन पाउने व्यवस्था गर्न लागिएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।

मावि तह उत्तीर्ण हुनको लागि कक्षा आठ, १० र १२ मा सबै विषयमा अनिवार्य रुपमा सैद्धान्तिक विषयमा ‘डी’ र प्रयोगात्मकमा ‘सी’ ल्याउनैपर्ने व्यवस्था छ ।

संशोधन गरिएको निर्देशिका अनुसार नियमित वा ग्रेड वृद्धि परीक्षामा कम्तीमा डी ल्याउनैपर्ने हुन्छ ।

नियमित र मौका परीक्षा दिँदा पनि विद्यार्थीले जुनजुन विषयमा एनजी आएको छ, त्यो विषयको मात्रै परीक्षा दिन पाउने उनले बताए ।

विद्यार्थीले यस्तो अवसर तीन वर्षसम्म पाउनेछन् । यस वर्ष कक्षा १० को अन्तिम परीक्षा आगामी चैत ७ गतेदेखि हुँदैछ ।

प्रकाशित मिति: ४ पुस २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्