रविलाई थप चार दिन हिरासतमा राख्न अनुमति माग्दै प्रहरी


 


पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप चार दिन हिरातसमा राख्न प्रहरीले अनुमति मागेको छ ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई थप चार दिन म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको हो।

लामिछाने गत कात्तिक ३ गतेदेखि कास्की प्रहरी हिरासतमा छन् । कास्की प्रहरीले लामिछानेविरुद्ध अनुसन्धान सकेर सोमबार सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाइसकेको छ ।

प्रहरीले पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलनमा रास्वपा सभापति लामिछानेसहित अन्य ५० जनालाई मुद्दा चलाउने सिफारिससहित प्रतिवेदन बुझाएको छ ।

लामिछानेविरुद्ध सहकारी ठगी र संगठित अपराधमा चारदेखि ६ वर्ष तथा थप ५० प्रतिशत र सम्पत्ति शुद्धीकरणमा दुईदेखि १५ वर्ष कैद र २८ करोड बिगो र त्यति नै जरिवाना असुल गर्ने मागसहित मुद्दा चलाउन सिफारिस गरिएको छ ।

सूर्यदर्शन सहकारी ठगीमा पक्राउ परेका तथा फरार रहेका १९ व्यक्तिविरुद्ध २०८० असोज १८ मा मुद्दा दर्ता भइसकेको छ ।

मुद्दा चलाइएकामध्ये गोर्खा मिडिया नेटवर्कका अध्यक्षसमेत रहेका जीबी राई फरार छन्, सोही कम्पनीका सञ्चालक कुमार रम्तेल पुर्पक्षका लागि २०८० भदौदेखि कास्की कारागारमा छन् ।

अब लामिछानेसहित ३२ जनलाई मुद्दा चलाउन र समग्रमा सहकारीको कुल १ अर्ब ३५ करोड असुल गर्न प्रहरीको राय छ ।

प्रकाशित मिति: २ पुस २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्