आफैंमाथि गोली चलाउने असई चन्दलाई बर्खास्त गर्न सिफारिस


 


धनगढी । अछाममा आफैंमाथि गोली चलाउने प्रहरी सहायक निरीक्षक (असई) किसनबहादुर चन्दलाई संगठनबाट बर्खास्त गर्न सिफारिस गरिएको छ ।

घटनाको छानविन गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले गठन गरेको प्रहरी उपरीक्षक (एसपी) बिनोद शर्मा नेतृत्वको समितिले चन्दलाई बर्खास्त गर्न सिफारिस गरेको हो ।

प्रदेश प्रहरी कार्यालय स्रोतकाअनुसार चन्दले मदिरा सेवन गरेर आफैंमाथि पेस्तोल चलाएको, विगतमा पनि विभिन्न प्रहरीमाथि गोली ताक्ने काम गरेको जस्ता कारणले संगठन राख्न उपयुक्त नदेखिएको भन्दै समितिले उनलाई बर्खास्त गर्न सिफारिस गरेको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीले पनि छानविन समितिले प्रतिवेदन बुझाउदै चन्दलाई कारवाही गर्न सिफारिस गरेको पुष्टि गरे ।

तर, अहिले उनी नेपाल प्रहरी अस्पताल काठमाडौँमा उपचाररत भएका कारण थप कारवाही प्रक्रिया अघि नबढेको कार्कीले बताए । स्रोतका अनुसार उनले त्यहा कार्यरत प्रहरी कर्मचारीलाई पेस्तोल ताकेका थिए ।

त्यसपछि चौकीमा कार्यरत प्रहरी कर्मचारीहरुको भागाभाग भएको थियो । अन्य कर्मचारी भागेपछि उनले आफैलाई गोली हानेको स्रोत बताउछ ।

अछामको तुर्माखाद गाउँपालिका–३ को भैरवस्थान प्रहरी चौकीका इन्चार्जका रुपमा कार्यरत चन्दले १३ मंसिरको राति आफैंमाथि पेस्तोल चलाएका थिए ।

प्रकाशित मिति: १ पुस २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्