विदेशबाट फर्किएर स्वदेशमै कुखुरापालन, मासिक डेढ लाख आम्दानी


 


बागलुङ, मंसिर ३० । बागलुङ नगरपालिका–७ कालिमाटीका एक उद्यमीले कुखुरापालनबाट मासिक एक लाख ५० हजार बचत गर्ने गरेका छन् ।

यहाँका ओमराज शर्माले ग्रिनल्याण्ड बहुउद्देश्यीय कृषि फार्ममा पाँच हजार कुखुरा पालेर दैनिक ५ हजार अण्डा बजारमा पठाउने गरेका छन् ।

१२ वर्ष कतार बसेर फर्किएका शर्माले कुखुरापालनमा आम्दानी र जोखिम बराबर रहेको बताए । ‘तीन हजार कुखुरा पाल्दै आएको थिएँ । हाल थप दुई हजारले अण्डा दिन सुरु गरेका छन् । दैनिक ५ हजार अण्डा बजार बेच्ने गरेको छु’, शर्माले भने ।

१ करोड ५० लाख रुपैयाँ लागतमा फार्म स्थापना गरी सञ्चालनमा ल्याएका उनले अण्डाको बजारीकरणका लागि बागलुङ बजारमा डिपो, एउटा पिकअप जिप र चार जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् ।

शर्मा फार्मको कमाइबाट आफू सन्तुष्ट रहेको बताउँछन् । अहिले कर्मचारीलाई तलब खर्च कटाए मासिक १ लाख ५० हजार रुपैयाँ बचत हुने गरेको उनले बताए ।

अण्डा बिक्रीका लागि बजार अभाव नभएको बताउँदै बाहिरबाट आउने अण्डाका कारण मूल्य भने अस्थिर हुने गरेको उनले बताए । किसानलाई स्थानीय सरकारले प्राविधिक सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।

कुखुराभन्दा गाईबाख्रा पाल्न सहज हुने उनको अनुभव छ । त्यसैले अब उनी व्यावसायिक रूपमा गाई र बाख्रापालन गर्ने सोचमा छन् ।

प्रकाशित मिति: ३० मंसिर २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्