स्वास्थ्यमन्त्री पौडेलद्वारा अस्पताल भवन उद्घाटन


 



तनहुँ, २९ मङ्सिर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले म्याग्देमा निर्माण गरिएको दश शय्याको अस्पताल भवनको आज उद्घाटन गर्नुभएको छ ।

प्रत्येक स्थानीय तहमा १० शय्याको अस्पताल निर्माण गर्ने सङ्घ सरकारको निर्णय बमोजिम म्याग्दे गाउँपालिका–४ थर्पुमा निर्माण गरिएको भवनको मन्त्री पौडेलले उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा पूर्वप्रतिनिधिसभा सदस्य केदार सिग्देल, संविधानसभा सदस्य रामचन्द्र पोखरेल, म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरेलगायत सहभागी हुनुहुन्थ्यो । अस्पताल भवन निर्माण सम्पन्न भएसँगै नयाँ भवनबाट सेवा प्रवाहको तयारी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अधिकारीले जानकारी दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत अधिकारीका अनुसार अस्पतालमा एक जना करारमा डा नियुक्त गरिएको छ । त्यस्तै दुई जना ल्यावमा कर्मचारी नियुक्त गरिसकिएको छ ।

रु सात करोड ३४ लाख ५० हजार एक सय ९६ को लागतमा भवन निर्माण गरिएको हो । भवन निर्माणका लागि विसं २०७८ जेठ २ गते ऋषि शक्ति होम निर्माण जेभीसँग सम्झौता भएको थियो । उक्त भवन विसं २०८० जेठ १० गतेभित्र सम्पन्न गर्नुपर्ने म्याद रहेपनि विविध कारणले काममा ढिलाइ भएको अधिकारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २९ मंसिर २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्