लागूऔषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ
काठमाडौँ । लागूऔषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ परेका छन् । काठमाडौँ, कञ्चनपुर, कैलाली लगायतका जिल्लामा लागूऔषधसहित ८ जना पक्राउ परेका हुन् ।
काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित बल्खु पुलमुनिबाट लागू औषध ट्रामाडोल १ हजार ४ सय ४० ट्याब्लेट, नाईट्राभेट ४ ट्याब्लेट र नगद ५ हजार ५ सय रुपैयाँसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काभ्रे पाँचखाल नगरपालिका घर भई काठमाडौँ काँडाघारी बस्ने २३ वर्षीय राजन खड्का र काभ्रे नमोबुद्द नगरपालिका–९ घर भई काठमाडौँ थली बस्ने ३० वर्षीय कार्साङ लामा रहेका छन् । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागू औषध सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको बा.प्र.०२–०२० प ५०३३ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।
त्यस्तै कञ्चनपुरको भिमदत्त नगरपालिका–१८ कटानबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ सय १९ मिलिग्राम सहित सोही ठाउँ बस्ने ४० वर्षीय विनोद जोशीलाई प्रहरीले पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई बिहीबार उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
उता कैलालीको भजनी नगरपालिका–३ मोरीयाघाटबाट लागू औषध ट्रामाडोल ३० ट्याब्लेट र एभिल १५ ट्याब्लेट सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टिकापुर नगरपालिका अस्नेरी बस्ने ३० वर्षीय नवराज बिक र लम्कीचुहा नगरपालिका–१ भुरूवा बस्ने २९ वर्षीय इमान रावल रहेका छन् । इलाका प्रहरी
कार्यालय सूर्यपुर भजनीबाट खटिएको प्रहरीले बिहीबार साँझ भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त लागू औषध सहित पक्राउ गरेको हो ।
कैलालीकै भजनी नगरपालिका–३ मोरीयाघाटबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम सहित लम्कीचुहा नगरपालिका–९ प्रतापपुर बस्ने ३५ वर्षीय साजिश चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सूर्यपुर भजनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको से.४ प ५९७८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।यता सुनसरीको धरान उपमहानगरपालिका–८ सिद्धकालीचोकबाट लागू औषध ट्रामाडोल ६९ ट्याब्लेट र स्पासरेष्ट ४८ ट्याब्लेटसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीय निपेन श्रेष्ठ र २० वर्षीय देवराज धामी रहेका छन् । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई बिहीबार राति उक्त लागू औषध सहित पक्राउ गरेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
प्रकाशित मिति: २८ मंसिर २०८१, शुक्रबार