कर्णाली र सुदूरपश्चिममा ६ जलविद्युत् आयोजनाको अध्ययन गर्दै विभाग


 


काठमाडौँ । विद्युत् विकास विभागले कर्णाली र सुदूरपश्चिम प्रदेशमा ६ वटा जलविद्युत् आयोजनाको अध्ययन गर्ने भएको छ । विभागले ७७६ मेगावाट क्षमता भएका यी आयोजनाको सम्भाव्यता तथा वातावरणीय प्रभाव मूल्यांकन अगाडि बढाउन लागेको हो ।

यसमध्ये दुईवटा जलाशय, तीनवटा आंशिक जलासय र एउटा नदी प्रवाहमा आधारित आयोजना हुने विभागको भनाइ छ । विभागले जाजरकोट र रुकुम पश्चिममा पर्ने भेरी–२ जलासययुक्त आयोजनाको अध्ययन यही वर्ष सुरु गर्नेछ । जसको क्षमता २५६.२० मेगावाट रहेको छ ।

१७६ मेगावाटको चेरा–१ जलासययुक्त आयोजना पनि अध्ययन हुनेछ । चेरा नदीमा बन्ने उक्त आयोजना जाजरकोटमा पर्छ । सूर्नयगाड जलासययुक्त आयोजना डडेलधुरा र बैतडीमा पर्छ । सूर्नय गाड नदीमा बन्ने उक्त आयोजना ११४ मेगावाटको हुने जनाइएको छ ।

त्यसैगरी ११३ मेगावाटको माथिल्लो कर्णाली बी आंशिक जलासययुक्त आयोजना अछाम र दैलेखमा बन्नेछ । कर्णाली नदीमै हुम्लामा माथिल्लो लोटीकर्णाली नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाको अध्ययन हुनेछ । यसको क्षमता ७३.८० मेगावाट हुने विभागको भनाइ छ ।

बझाङको घाट गंगा नदीमा ४३.५० मेगावाटको घाटगंगा आशिंक जलासययुक्त आयोजनाको अध्ययन पनि यही वर्षमा गरिने विभागले जनाएको छ । चालु आवमा सबै आयोजनाको अध्ययन अगाडि बढाउने र सकिने २ देखि ३ वर्षसम्म लाग्ने विभागको भनाइ छ ।

प्रकाशित मिति: २८ मंसिर २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्