३ स्थानमा भएको सवारी दुर्घटनामा ७ जनाको मृत्यु


 


काठमाडौं । फरक फरक तीन स्थानमा भएको सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार जाजरकोटको नलगाड नगरपालिका-३ बिरखोलास्थित सडकमा भएको जीप दुर्घटनामा ५ जनाएको मृत्यु भएको छ ।

स्थानीय कालीमाटीबाट करूवातर्फ जाँदै गरेको ग.३ च ९८४५ नम्बरको बोलेरो जिप सडकबाट करिब ७ सय मिटर तल खसेर बुधबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-३ करूवा बस्ने ३२ वर्षीय ईन्द्रजित थापा समेत ५ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको नगर अस्पताल दल्लीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने १ जना उपचार पश्चात डिस्चार्ज भएका छन् ।

यसैगरी कास्कीको पोखरा महानगरपालिका-८ नागढुङ्गास्थित सडकमा ग.१ ख ३७५४ नम्बरको बस र बा.प्र.०४४ प ८७२३ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई बुधबार राति दुर्घटना हुँदा स्कुटर चालक सुनसरी धरान उपमहानगरपालिका-२० घर भई कास्की पोखरा महानगरपालिका-११ फुलबारी बस्ने ३१ वर्षीय प्रदिप राईको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नुवाकोटको किस्पाङ गाउँपालिका-४ भाल्चेबेशीस्थित सडकमा पनि बा.प्र.०१-००३ क ७१८७ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-४ बस्ने ४८ वर्षीय टासी घलेको बुधबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २७ मंसिर २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्